काठमाडौं । बुढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि विद्यालय परिसरमै कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे रहेका छन्। उनीहरूलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी विवाद हुँदा प्राचार्य पण्डितमाथि हातपात भएको बताइएको छ। भर्नाको म्याद सकिएको जवाफ प्राचार्यले दिएपछि विवाद चर्किएको थियो।

ADVERTISEMENT

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक युवकले प्राचार्य पण्डितसँग विवाद गरिरहेको र त्यसपछि मुक्का तथा लात्ती प्रहार गरेको देखिन्छ। घटनाको भिडियो सार्वजनिक भएपछि विद्यालय परिसरमै शिक्षक तथा प्राचार्यमाथि भएको आक्रमणको विषयले चर्चा पाएको छ।

यस घटनामा शिक्षा तथा खेलकुद मन्त्रालयले पनि चासो देखाएको छ। गृह मन्त्रालयसँग समन्वय गरेर संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

ADVERTISEMENT

मन्त्रालयले शैक्षिक संस्थाभित्र हुने यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ।