काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारका मन्त्रीहरूलाई रुलिङ गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसदहरूले सभामा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका हु्न् ।

‘राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु,’ उनले भने । राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका  सभामुखले सरकारका नाममा रुलिङ गरेपछि अनिवार्य रूपमा प्रधानमन्त्री वा मन्त्री संसद् बैठकमा उपस्थित हुनैपर्छ ।

ADVERTISEMENT

राष्ट्रिय सभामा सत्तारुढ रास्वपाको उपस्थिति शून्य छ । अध्यक्षा दाहालकाे रुलिङपछि आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

प्रतिनिधिसभामा भने सभामुख डोलप्रसाद अर्यालले अहिलेसम्म सरकारलाई रुलिङ गर्न सकेका छैनन् । कतिसम्म भने प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई संसदमा उपस्थित हुन सांसदहरूले रुलिङको माग गर्दै आए पनि सभामुख अर्यालले चासाे दिएका छैनन् । मन्त्री उपस्थित नभएपछि विपक्षी सांसदले विराेध जनाएमा सभामुख अर्यालले केही समय बैठक स्थगित गर्ने र मन्त्रीलाई उपस्थित हुन खबर पठाउने गरेका छन् ।

ADVERTISEMENT