काठमाडौं। आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली क्रिकेट टोलीको औपचारिक बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रम आयोजना गर्दै टोलीलाई विश्वकपका लागि शुभकामना सहित बिदाइ गरेको हो।

विश्वकपअघि नेपाली टोलीले श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने भएकाले टोलीलाई आजै बिदाइ गरिएको क्यानले जनाएको छ। टोली आइतबार विदेश प्रस्थान गर्ने छ। श्रीलंकामा श्रीलंका ‘ए’ टोलीसँग र भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास खेल खेल्ने तालिका रहेको छ।

ADVERTISEMENT

बिदाइ कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीले विश्वकपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले विश्वकपलाई विश्वभर हेरिने मञ्च भएको उल्लेख गर्दै खेलाडी र व्यवस्थापन टोलीलाई शुभकामना दिए।

ADVERTISEMENT

कप्तान रोहित पौडेलले तयारी उत्साहजनक रहेको बताए। अभ्यासले राम्रो लय बनेको उल्लेख गर्दै उनले विश्वकपमा नेपाली क्रिकेटलाई गर्व गर्ने प्रदर्शन गर्ने प्रतिबद्धता जनाए। प्रशिक्षक स्टुअर्ट लले पनि अभ्यासमार्फत योजनालाई अन्तिम रूप दिइने र विश्वकपमा सशक्त प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले तयारी सन्तोषजनक रहेको भन्दै भारतको कन्डिसन नेपाली टोलीका लागि अनुकूल हुने बताए।

ADVERTISEMENT

विश्वकपको समूह चरणमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने छ। रोहित पौडेल कप्तानीमा नेपाली टोलीले खेल्ने छ।