काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एपमार्फत ‘फोन लोन सेवा’ सुरु गरेको छ । ६१औँ वार्षिकोत्सवको अवसरमा वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै बैंकले ‘आरबीबी डिजिटल संसार एप’ मार्फत ‘फोन लोन’ सेवा सुरु गरेको हो ।

बैंकको यो सेवा आइतबार अर्थमन्त्री रामेश्वर खनालले शुभारम्भ गरेका हुन् । फोन लोनको कर्जा सेवाबारे उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौड्यालले भने, ‘आरबीबी फोन लोन सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल ऋण समाधान उपलब्ध गराउने हाम्रो उद्देश्य हो। प्रविधिको उपयोग गर्दै वित्तीय सेवामा पहुँच विस्तार गर्नु बैंकको प्राथमिकता हो।’

यो डिजिटल कर्जा सेवा एफवन सफ्ट ग्रुपअन्तर्गतको फोन लोन प्रालिद्वारा प्रदान गरिएको र यसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा वितरण सुनिश्चित गर्ने बैंकले जनाएको छ ।

यो सेवामार्फत बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकले हाललाई एक लाख रुपैयाँसम्मको ऋण कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन्। यो सेवा छिटो, सरल र सहज रूपमा औपचारिक ऋण पहुँच सुनिश्चित गर्न लक्षित गरिएको बैंकले जनाएको छ ।

ऋणको सीमा तथा योग्यता बैंकले तोकेका मापदण्डअनुसार निर्धारण गरिनेछ, जसमा तलब जम्मा कारोबारको नियमितता, हालसालैका ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहार समावेश छन्। ग्राहकहरूले एक महिनाको अवधिमा वा १२ महिनासम्म किस्ताबन्दीमार्फत ऋण चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन्। साथै, पूर्वभुक्तानी सुविधा पनि उपलब्ध रहेको जनाइएको छ।

बैंकबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले डिजिटल संसार एपमार्फत प्रमाणित इमेल ठेगाना प्रदान गरी सेवा दर्ता गर्न सक्नेछन्। योग्य ग्राहकहरूले एपको ड्यासबोर्डबाटै ऋण आवेदन दिन सक्नेछन् र स्वीकृतिपछि सेवा उपभोग गर्न सक्नेछन्।