काठमाडौं । २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट लुटिएको सुन फिर्ता नपाएको भन्दै सुन धितो राख्ने ऋणीहरू आन्दोलनमा उत्रिएका छन्।

उक्त घटनामा बैंकमा धितो राखिएको करिब १८ किलो सुन तथा ५ करोड रुपैयाँभन्दा बढी नगद लुटिएको थियो। बैंकले बिमा दाबी गरिसकेको र सुन चोरी भएको दिनको मूल्यका आधारमा पीडितलाई रकम भुक्तानी गर्ने निर्णय गरेको छ। सोहीअनुसार धेरै ऋणीले रकम बुझिसकेका छन्।

तर पीडितहरूले पुरानो मूल्यमा नगद होइन, आफूहरूले धितोमा राखेकै परिमाणको सुन फिर्ता पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले हालको बजार मूल्यअनुसार क्षतिपूर्ति दिनुपर्ने वा सुन नै उपलब्ध गराउनुपर्ने अडान लिएका छन्।

ADVERTISEMENT

बैंक स्रोतका अनुसार २२६ जना ऋणीको धितोमा रहेको १७ हजार ९४५ ग्राम सुन चोरी भएको थियो। हालसम्म १०० भन्दा बढी ऋणीले बैंकको निर्णयअनुसार रकम बुझिसकेका छन् भने बाँकीले विरोध जारी राखेका छन्।

ADVERTISEMENT

यसबीच बैंकले बिमा दाबी गर्दा कुल तौलका आधारमा दाबी गरेको तर पीडितलाई जर्ती कट्टा गरी खुद तौलका आधारमा मात्र भुक्तानी गरेको विषय पनि विवादको केन्द्र बनेको छ। यसबारे पुनरावलोकन गर्न अध्ययन भए पनि सञ्चालक समितिको निर्णय हुन बाँकी रहेको जनाइएको छ।

ADVERTISEMENT

पीडितहरूले सिंहदरबारस्थित बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै सुनको सट्टा नगद स्वीकार नगर्ने चेतावनी दिएका छन्। उनीहरूले आफूहरूले बैंकमा राखेको सुन बराबरकै सुन फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।