काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।

बिहीबार राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा. सुमन दाहालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

ADVERTISEMENT

चेक हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत कर्मचारीको उपस्थिति थियो।

ADVERTISEMENT

भोटेकोशीसँगै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण कैयौँ मानिस बेपत्ता भएका छन् भने प्रभावित नागरिक उद्धार तथा राहतको पर्खाइमा छन्।

ADVERTISEMENT

बैंकले बाढी प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गरेको जनाएको छ।

बैंकले विपद्का कारण ज्यान गुमाउन पुगेका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता तथा घाइतेको शीघ्र उद्धार र उपचारको कामना गरेको छ। साथै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ।