काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै दुई विधामा सम्मानित भएको छ।
आज काठमाडौंमा आयोजित नेपाल क्लियरिङ हाउसको १७औँ वार्षिकोत्सव समारोहमा राष्ट्रिय वाणिज्य बैंकलाई सबैभन्दा बढी ‘क्यूआर’ मर्चेन्ट कारोबार गर्ने बैंक तथा सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा अवार्ड प्रदान गरिएको हो।
उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गरेका थिए।बैंकले आगामी दिनमा पनि डिजिटल बैंकिङको प्रवर्द्धन, सुरक्षित तथा प्रभावकारी भुक्तानी प्रणालीको विस्तार तथा ग्राहक–केन्द्रित सेवामा थप प्रतिबद्ध भएर अघि बढ्ने जनाएको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘भुक्तानी प्रणाली सञ्चालक’ को अनुमति प्राप्त संस्था हो।







