काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। आज एकै दिन पाँच हजार दुई सय रुपैयाँले सुनको मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको सोमबार छापावाल सुनको मूल्य तोलामा तीन लाख नौ हजार रुपैयाँ पुगेको हो। आइतबार प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। आइतबार प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ रहेको चाँदी, आज बढेर ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धि, अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढाव तथा विश्वव्यापी भू–राजनीतिक अस्थिरताका कारण नेपाली बजारमा पनि सुनको भाउ आकासिएको महासंघले जनाएको छ।