काठमाडौं।  नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिबाहेक अरू कुनै व्यक्ति वा निकायलाई नभएको स्पष्ट पारेको छ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन आह्वान गर्ने अधिकार व्यक्तिगत रूपमा पदाधिकारी वा सदस्यलाई नभई केन्द्रीय कार्यसमितिलाई मात्रै रहेको उल्लेख गरिएको छ।

ADVERTISEMENT

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले विशेष महाधिवेशनको आवश्यकता औँल्याउँदै वकालत गरिरहेका बेला जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीको विधानबमोजिम केन्द्रीय कार्यसमितिबाहेक अन्य कसैले अधिवेशन वा विशेष महाधिवेशन बोलाउन सक्दैन। व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि विधानविपरीत हुनेछ।”

विज्ञप्तिमा पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरूलाई यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ।

ADVERTISEMENT

यसअघि कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित मागपत्र बुझाइसकेका छन्। पार्टी विधानअनुसार विशेष महाधिवेशनको माग दर्ता भएको ९० दिनभित्र अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ, जसको म्याद यही पुस २८ गते पूरा हुँदैछ।

तर पार्टी केन्द्रीय कार्यसमितिले बहुमतको बलमा विशेष महाधिवेशन गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरिसकेको छ।

यद्यपि विशेष महाधिवेशन पक्षधर समूहले भने यही पुस २७ गते विशेष महाधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका सार्वजनिक गर्दै तयारी र गतिविधि अघि बढाइरहेको छ।

 

                                                                                                                नेपाली कांग्रेस विज्ञप्ति 

                                                                                                                            नेपाली कांग्रेस विज्ञप्ति