काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ। यसअघि बिहान ११ बजेका लागि तय गरिएको बैठक अब दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने कांग्रेसले जनाएको छ।

बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आग्रह गरिएको छ। तर, विशेष महाधिवेशन पक्षसँग आबद्ध केही केन्द्रीय सदस्यहरूले बैठकमा सहभागी नहुने संकेत गरेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले कांग्रेसभित्रको आन्तरिक विवादलाई चरम सीमामा पुर्‍याएको छ। संस्थापन पक्षका नेताहरूले उक्त महाधिवेशनलाई वैधानिकता नभएको दाबी गरिरहेका छन् भने विशेष पक्षधरहरूले नेतृत्व र नीतिगत परिवर्तनका लागि अघि बढ्ने अडान लिएका छन् र  महाधिवेशन प्रतिनिधिले चाहे नीति र नेतृत्व दुवै परिवर्तन गर्नेछौ भनेर अडान लिएका छन्। 

पार्टीभित्र देखिएको विवाद समाधान गर्ने प्रयासस्वरूप बालुवाटारमा त्रिपक्षका प्रतिनिधिबीच संवाद भइरहेको छ। सो वार्ताले कांग्रेसको आगामी राजनीतिक दिशा र केन्द्रीय कार्यसमिति बैठकको प्रभावकारितामा महत्वपूर्ण भूमिका खेल्ने छ।