काठमाडौँ। अमेरिकाले सार्वभौम राष्ट्र भेनेजुएलामाथि बल प्रयोग गरेको घटनाप्रति चीनले गहिरो आक्रोश व्यक्त गर्दै कडा निन्दा गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शनिबार जारी वक्तव्यमा अमेरिकाको कदम अन्तर्राष्ट्रिय कानुनविपरीत र क्षेत्रीय शान्तिका लागि डरलाग्दो भएको बताएका छन्।
अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमण गरि, राष्ट्रपति निकोलस मादुरो तथा उनकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्क लगेको छ।
यस विषयमा प्रतिक्रिया दिँदै चिनियाँ प्रवक्ताले भने, “अमेरिकाका यस्ता एकपक्षीय र दबाबमूलक कार्यहरूले अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाको सार्वभौमिकतामाथिको गम्भीर प्रहार हो यसले ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा शान्ति र सुरक्षालाई खतरा पुर्याउँछन्।”
चीनले उक्त कदमको कडा विरोध गर्दै अमेरिकालाई अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूको पालना गर्न आह्वान गरेको छ। “हामी अमेरिकालाई अन्य देशको सार्वभौमिकता र सुरक्षामाथि हस्तक्षेप नगर्न आग्रह गर्छौं,” प्रवक्ताले भने।










