काठमाडौं। बिपन्न बर्गमा प्रवाह गरिने कर्जामा समग्र बैंकिङ क्षेत्रको आर्कषण घट्दै गएको देखिएको छ । बैंकिङ क्षेत्रमा पछिल्लो समय निष्क्रिय कर्जा बढेको र यसको प्रमुख कारण बिपन्न बर्ग कर्जा भएकाले पनि पछिल्लो समय यस्तो कर्जामा आर्कषण घटेको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुले आफ्नो कुल कर्जाको पाँच दशमलव २९ प्रतिशतका दरले हुन आउने दुई खर्ब ७६ अर्ब ३१ करोड ३० लाख रुपैंयाँ बराबरको कर्जा बिपन्न बर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ६४ प्रतिशत अर्थात ११ अर्ब ३१ करोड ३० लाख रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले आफ्नो कुल कर्जा रकम मध्ये पाँच दशमलव ९३ प्रतिशतका दरले हुन आउने दुई खर्ब ८७ अर्ब ६२ करोड ६० लाख रुपैंयाँ बराबरको कर्जा बिपन्न बर्गमा प्रवाह गरेका थिए ।
बाँणिज्य बैंकहरुले मात्र चालु आवको फागुन मसान्तसम्ममा आफ्नो कुल कर्जाको पाँच दशमलव २० प्रतिशतका दरले हुन आउने दुई खर्ब ४१ अर्ब ३० करोड ३० लाख रुपैंयाँ बराबरको कर्जा बिपन्न बर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ५४ प्रतिशत अर्थात पाँच अर्ब ३२ करोड ७० लाख रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुले आफ्नो कुल कर्जाको पाँच दशमलव ७४ प्रतिशतका दरले हुन आउने दुई खर्ब ४६ अर्ब ६३ करोड रुपैंयाँ बराबरको कर्जा बिपन्न बर्गमा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार बिकास बैंकरुले पनि पछिल्लो अवधिमा बिपन्न बर्गमा कर्जा घटाएका छन् । चालु आवको फागुन मसान्तसम्ममा बिकास बैंकहरुले आफ्नो कुल कर्जाको छ दशमलव ६० प्रतिशतका दरले हुन आउने ३० अर्ब ४४ करोड ६० लाख रुपैंयाँ बराबरको कर्जा बिपन्न बर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ८७ प्रतिशत अर्थात छ अर्ब नौं करोड ४० लाख रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुले आफ्नो कुल कर्जा मध्ये सात दशमलव ४७ प्रतिशतका दरले हुन आउने ३६ अर्ब ५४ करोड रुपैंयाँ बराबरको कर्जा बिपन्न बर्गमा प्रवाह गरेका थिए ।
फाईनान्स कम्पनीहरुले पछिल्लो समय बिपन्न बर्गमा कर्जाको अनुपात घटाएका छन् । राष्ट्र बैंकका अनुसार चालु आवको फागुन मसान्तसम्ममा फाईनान्स कम्पनीहरुले आफ्नो कुल कर्जा रकम मध्ये पाँच दशमलव ९४ प्रतिशतका दरले हुन आउने चार अर्ब ५६ करोड ४० लाख रुपैंयाँ बराबरको कर्जा बिपन्न बर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ११ प्रतिशतले कम भए हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले आफ्नो कुल कर्जाको सात दशमलव शुन्य पाँच प्रतिशतका दरले हुन आउने चार अर्ब ४५ करोड ६० लाख रुपैंयाँ बराबरको कर्जा बिपन्न बर्गमा प्रवाह गरेका थिए । फाईनान्स कम्पनीहरुले पछिल्लो समय बिपन्न बर्गमा प्रवाह गरेको कर्जा रकम बढेको देखिनुमा भने फाईनान्स कम्पनीहरुको कर्जाको भोलुम प्रमुख कारण रहेको छ ।
बैंक तथा फाईनान्स कम्पनीहरुले बिपन्न बर्गमा प्रवाह गरेको कर्जा रकम (रकम १० लाखमा)

(श्रोतः नेपाल राष्ट्र बैंक)
किन कर्जा दिन उदासिन छन् बैंकहरु ?
बिपन्न वर्गतर्फ बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा कमी आएको छ । सरकारले वित्तीय समावेशीकरणलाई प्राथमिकता दिए पनि बैंकहरू भने यस क्षेत्रमा कर्जा विस्तार गर्न चाहाँदैनन ।
एक बैंकरका अनुसार बिपन्न वर्गमा कर्जा प्रवाह गर्दा जोखिम उच्च हुने, कर्जा असुलीमा समस्या आउने र सञ्चालन लागत बढ्ने हुन्छ । विशेषगरी, साना–साना कर्जाको व्यवस्थापनका लागि आवश्यक मानव स्रोत र समय बढी लाग्ने भएकाले बैंकहरू यसतर्फ आकर्षित हुन नसकेका हुन । “पछिल्लो समय बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दै गएको छ । बिपन्न वर्गका ऋणीहरूमा नियमित आम्दानीको श्रोत कम हुने भएकाले कर्जा फिर्ता गर्ने क्षमता पनि अनिश्चित हुने देखिन्छ । यसले गर्दा बैंकहरूले जोखिम न्युनिकरणका लागि पछिल्लो समय यस्तो क्षेत्रमा कर्जा घटाउने रणनीति लिएका हुन ।” उनि भन्छन ।
बैंकहरुमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभित्र मात्रै कर्जा प्रवाह गरेर दायित्व पूरा गर्ने प्रवृत्ति पनि बढ्दो छ । बैंकहरू उच्च नाफा दिने ठूला कर्जा र सुरक्षित क्षेत्रतर्फ केन्द्रित भइरहेका छन् । यो अवस्थामा बिपन्न वर्गमा कर्जा प्रवाह घट्नुले आर्थिक असमानता अझ बढ्न सक्ने अर्थबिदहरु बताउँछन । “यसले साना उद्यम, कृषि तथा स्वरोजगारमा आधारित गतिविधि कमजोर हुनसक्छ, जसले दीर्घकालीन आर्थिक विकासमा नकारात्मक असर पार्न सक्छ ।” अर्थबिदहरु भन्छन ।






