काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइको मंगलबार नै गर्ने भएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइका लागि दिउँसो १ः३० बजेको समय कार्यसूचीमा तय गरेको समितिका सचिव तुलबहादुर विश्वकर्माले जानकारी दिए ।
समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो । विपक्षी दलका सांसदहरु पद्मा अर्याल, वर्षमान पुन, नरबहादुर विष्टलगायतले प्रक्रियाबाट जानुपर्ने र ६ वर्षे प्रधानन्यायाधीशले गर्ने कामको कार्ययोजना अध्ययन गर्न समय माग गरेका थिए ।
तर रास्वपाका सांसदहरु कवीन्द्र बुर्लाकोटी, मधु चौलागाईंलगायतले उजुरी अध्ययन गर्न धेरै समय आवश्यक नपर्ने भएकाले प्रक्रिया छिटो अगाडि बढाउनुपर्ने माग गरेका थिए ।
समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने भएकाले अध्ययनका लागि धेरै लामो समय जरुरी नपर्ने हुँदा प्रक्रिया अघि बढाउन सबैलाई सहयोगका लागि आग्रह गरेका थिए ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा सातवटा उजुरी परेको छ । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।
त्यसैले आजै सुनुवाइ सकेर नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइने भएको छ । सम्भवतः आजै शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाइने छ । प्रधानन्यायाधीश नियुक्ति गरेलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।






