काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरमा चुनावी अभियानलाई सम्बोधन गर्ने क्रममा नेपालमा हालै बनेको अन्तरिम सरकार र पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वलाई खुलेर प्रशंसा गरेका छन्। मोदीको सम्बोधनलाई नेपालतर्फ लक्षित योजनाबद्ध सन्देशको रुपमा व्याख्या गरिएको छ।
मोदीले भने — “हिमालयको काखमा रहेको नेपाल भारतको मित्र मात्र होइन, हाम्रो साझा इतिहास, साझा आस्था र साझा संस्कृतिले जोडिएको परिवार हो। हामी दुबै देश लोकतान्त्रिक मूल्य र परम्पराबाट प्रेरित भएर अगाडि बढिरहेका छौं।”
अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै मोदीले थपे — “श्रीमती सुशीलाजीलाई एक सय ४० करोड भारतवासीको तर्फबाट हार्दिक बधाइ छ। नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नु महिला सशक्तिकरणको ऐतिहासिक उपलब्धि हो। म विश्वास दिलाउँछु कि नेपालले अब शान्ति, स्थिरता र समृद्धिको बाटोमा नयाँ ढंगले यात्रा सुरु गर्नेछ।”
उनले नेपालमा हालसालै देखिएको सकारात्मक जनआन्दोलन र युवाको योगदानप्रति पनि प्रशंसा व्यक्त गरे। मोदीले भने — “नेपालका युवक–युवतीले आन्दोलनपछि सडक सफाइ, रंगरोगन र पुनर्निर्माणका काम पवित्र भावना र आत्मविश्वासका साथ गरेका छन्। सामाजिक सञ्जालमा आएको दृश्यहरूले मलाई पनि गहिरो प्रभावित बनाएको छ। यो केवल प्रेरणादायी मात्र होइन, नेपाल नवउदयको संकेत हो।”
सम्बोधनमा मोदीले भारत–नेपाल सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाउँदै भने — “भारत नेपालसँग कन्धा मिलाएर उभिन सधैं तयार छ। नेपालको स्थायित्व र समृद्धि हाम्रो पनि साझा हित हो। हामी दुवै देशबीचको खुला सीमा र साझा संस्कृतिलाई अझ मजबुत पार्नेछौं।”
उनले थपे — “नेपालमा अस्थिरताको माहोल भए पनि त्यहाँका जनताले लोकतान्त्रिक मूल्यलाई सर्वोपरी राखेका छन्। यो प्रशंसा गर्न लायक छ। नेपाली जनताको धैर्य, विश्वास र परिवर्तनप्रतिको आस्था दक्षिण एशियाका लागि उदाहरण हो।”
मोदीले अन्त्यमा नेपालको उज्वल भविष्यको शुभकामना दिँदै भने — “नेपालको लोकतन्त्र अझ परिपक्व हुनेछ। हामी सबैलाई विश्वास छ, नेपाल अब शान्ति, एकता र विकासको यात्रामा नयाँ इतिहास रच्नेछ।”











