काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राखिएको रसुवास्थित होल्डिङ सेन्टरमा २५ जनामा झाडापखाला देखिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले शुक्रबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनामा झाडापखालाको समस्या देखिएको जानकारी दिएका हुन्। उनका अनुसार अन्य गम्भीर स्वास्थ्य समस्या भने अहिलेसम्म देखिएको छैन।

ADVERTISEMENT

सचिव देवकोटाले प्रभावित क्षेत्रमा हैजालगायतका रोगका बिरामी फेला नपरेको पनि बताए। उनका अनुसार बागमती प्रदेश सरकार तथा सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ।

ADVERTISEMENT

उनले विपद्पछि स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण पाठ सिकिएको भन्दै आगामी दिनमा निर्माण हुने संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए। भौगोलिक अवस्था, तापक्रम तथा नजिकका स्वास्थ्य सुविधाको उपलब्धतालाई समेत आधार बनाएर संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ।

देवकोटाका अनुसार सरकारले पुनर्स्थापना र पुनर्निर्माणका लागि जलवायु उत्थानशील संरचनासहितको गुरुयोजना तयार गरिरहेको छ।

ADVERTISEMENT