काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्दैछ ।

बैठकमा पार्टी समायोजन, संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय लिने एजेण्डा रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

हालै रास्वपाले बालेन्द्र साह बालेन नेतृत्वको समूह तथा उज्यालो नेपाल पार्टीसँग एकता गरेको थियो । सो एकतापछि बस्न लागेको आजको बैठकलाई विशेष चासोका रूपमा हेरिएको छ ।

एकतासँगै कुलमान घिसिङलाई पार्टी सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा राख्दै उपसभापति बनाइएको छ। तर उज्यालो नेपालमा यसबारे असन्तुष्टि उब्जिएको छ । शुक्रबार उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय नेतृत्वको टोली निर्वाचन आयोग पुगेर समानुपातिक बन्दसूची सच्याउने तयारीमा लागेको थियो । तर आयोगले उनको टोलीलाई फिर्ता पठाइदिएको थियो ।

बालेन पक्षका केही नेताहरूलाई पार्टीको पदाधिकारी तहमा समेट्ने तयारीसमेत रहेको बताइएको छ । यिनै विषयमा छलफल गर्न रवि, बालेन र कुलमान शनिबार मध्यरातिसम्म घन्टीघरमा वार्तामा बसेका थिए । तर वार्ताबारे कुनै जानकारी बाहिर ल्याइएको छैन ।