काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले सामूहिक राजीनामा दिएका छन् । मंगलबार बसेको बैठकले पार्टी सचिवालयको प्रस्तावमा संसदीय दलले एकमतले सो निर्णय गरेको हो । प्रतिनिधिसभामा रास्वपाका २० सदस्य छन् ।

बैठकले वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको भन्दै प्रधानमन्त्रीको तत्काल राजीनामा, घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन, सर्वपक्षीय नागरिक सरकारको माग गरेको छ ।

ADVERTISEMENT

यसैगरी, प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्रीका साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । बैठकले संविधान संशोधनको प्रक्रिया आरम्भ र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन गर्न पनि माग गरेको छ ।

‘वर्तमान संघीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै आगामी निकासका लागि शीघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै, सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको शीघ्र एवं निःशुल्क उपचारको पक्षमा रहँदै, देशको मुख्य सम्पत्ति जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरूले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ ।

ADVERTISEMENT

त्यसअघि नै रास्वपाका असिम शाह, सुमना श्रेष्ठ, तोसिमा कार्की, निशा डाँगीले सामाजिक सञ्जालमार्फत सांसद पदबाट राजीनामा दिएको घोपणा गरेका थिए ।