काठमाडौं । पछिल्लो समय कलाकार, गायक, संगीतकार, पत्रकार, वकिल सबै राजनीतिक दलसँग आबद्ध हुन थालेका छन् । हिजोसम्म पार्टीको नाम जोडिएमा आफूलाई अछुत ठान्नेहरू अहिले सगर्व आफूलाई फलानो फलानो दलको नेता, कार्यकर्ता, समर्थक भनेर चिनाउने गर्छन् ।
अहिले रवि लामिछाने र काठमाडौका मेयर बालेनबीच सहमति भएपछि त नाम चलेका अधिकांश सेलिब्रिटी कलाकारले आफूलाई भावी सांसदको रूपमा प्रस्तुत गर्न थालेका छन् । रिमा विश्वकर्मा, निशा अधिकारीदेखि सत्यकला राईसम्म खुलेरै राजनीतिमा लागिसकेका छन् । रिमा विश्वकर्मा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा, निशा अधिकारी वीरेन्द्र बस्नेतको गतिशील पार्टीमा, गायिका सत्यकला राई रास्वपामा लागेका छन् । यस्तै, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले गायिका त्रिशला गुरुङलाई समानुपातिक बन्दसूचीमा समेटेको छ । उज्यालोले निर्माता तथा हल मालिक नकिम उद्दिनलाई पनि समानुपातिक सूचीमा राखेको छ । नकिम अहिले लबिम मलका मालिक हुन् ।
तर विगतमा आफूलाई ‘सूर्यकुमारी’ भनेर चिनाउने अभिनेत्री करिश्मा मानन्धरलाई भने यसपटक पनि एमालेले उपेक्षा गरेकाे छ । आगामी फागुन २१ गते हुने निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची अहिले धमाधम तयार हुँदैछ । एमालेको हिजो बसेको सचिवालय बैठकले सोमबार निर्वाचन आयोगमा बुझाइने समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाउने सम्पूर्ण अधिकार अध्यक्ष केपी ओलीलाई दिएको छ ।
एमाले अध्यक्ष ओलीको प्राथमिकतामा अभिनेत्री करिश्मा परेकी छैनन् । बरु राष्ट्रिय सभा सदस्य खाइसकेकी, अघिल्लो निर्वाचनमा दाङबाट पराजित लोकगायिका कोमल वली ओलीको प्राथमिकतामा परेकी छन् । ओली प्रधानमन्त्री भएका बेला करिश्मा बालुवाटार र बालकोट पुग्ने गर्थिन् ।
ललितपुरमा एमालेका उम्मेदवारलाई जिताउन आफैं घरदैलोमा हिँड्ने गर्थिन् । उनले ललितपुर–१ बाट प्रत्यक्ष निर्वाचनमा टिकटको आकांक्षा राखेकी थिइन् । तर ओलीले अघिल्लो निर्वाचनमा नवराज सिलवाललाई दिएका थिए । अहिले सिलवाल ओलीको क्याम्पबाट आउट भइसकेका छन् । त्यसैले आगामी निर्वाचनमा करिश्माले टिकट पाउने हुन् कि होइनन् भन्ने यसै भन्न सकिने अवस्था छैन ।
ओलीले पद्मा अर्याल, शान्ता चौधरी, विष्णुमाया बिकलाई बोकेका छन् । चौधरी र बिक यसअघि पनि समानुपातिक सांसद थिए ।






