काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ‘सिटिजन्स DiZiBank’ नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानलमा केन्द्रीत गरी बैंकका ग्राहकहरुलाई वेब र मोबाइलमार्फत सहजीकरण गर्नु यसको मुख्य उद्देश्य रहेको बैकले जनाएको छ ।
सेवा प्रवाह अझ छिटो र छरितो बनाई यो प्लेटफर्मले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ । यो सुविधा बैंकको आधिकारिक वेबसाइट https://www.ctznbank.com र वा मोबाइल बैंकिङ एप (सिटिजन्स स्मार्ट) मार्फत प्रयोग गर्न सकिने जनाइएको छ ।
पहिलो चरणमा यस प्लेटफर्ममा हाल बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु (जस्तै, अनलाइन खाता खोल्ने, पान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस् सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिङ तथा कार्डसम्बन्धी सेवाहरु) उपलब्ध गराइएका छन् । डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई नवीनतम सेवाहरु दिने लक्ष्यका साथैे भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरु समावेश गर्दै यसलाई अझ सशक्त बनाउँदैे लैजाने बैंकले प्रतिबद्धता जनाएको छ ।
हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको थियो । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधालगायत क्रस बैंक टेलर सुविधासमेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।





