काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सञ्चालक सदस्य इला शर्माको निधनमा दुःख व्यक्त गरेको छ ।
शर्माको असमायिक निधनले सिटिजन्स बैंक परिवार स्तब्ध भएको छ र बैंकलाई अपूरणीय क्षति पु¥याएको बैंकले जनाएको छ । बैंकले आइतबार विज्ञप्ति जारी गर्दै शर्माको आत्माको चिर शान्तिको कामना र परिवारजनमा समवेदना व्यक्तसमेत गरेको छ ।
६० वर्षीया शर्माको शनिबार राति हृदयाघातका कारण निधन भएको हो । स्वास्थ्यमा असहज महसुस भएपछि उनलाई तत्काल थापाथलीस्थित नर्भिक अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको हो ।
शर्मा एक वर्षदेखि सिटिजन्स बैंकको समिति सदस्य थिइन् । कानुनमा विशेष अनुभव संगालेकी शर्मा पूर्वनिर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गरेकी थिइन् । साथै, युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी थिइन् ।
शर्मासँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकासलगायत क्षेत्रमा साढे तीन दशक काम गरेको अनुभव थियो । निर्वाचनसम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षसमेत थिइन् ।
शर्माको पार्थिव शरीरमा आजइतबार पशुपतिको आर्यघाटमा बैंकका अध्यक्ष प्रबलजंग पाण्डे, सञ्चालक दिग्विजय विष्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।








