काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणअन्तर्गत शनिबारको खेलमा मार्क वाटको उत्कृष्ट शतकमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले नौ विकेटले विजयी भएको छ ।
जितका लागि पाएको १५७ रनको लक्ष्य कर्णालीले मात्र १२.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको छ ।
स्कटल्यान्डका अलराउन्डर मार्क वाटले लुम्बिनीका बलरहरूलाई निरीह बनाउँदै चौका र छक्काको वर्षा गरे। वाटले आफ्नो पारीमा १२ वटा विशाल छक्का र ६ वटा चौका प्रहार गरे।
वाटले मात्र २९ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसपछिको ५० रन जोड्न उनले मात्र १२ बल खर्चिए। उनले ४१ बलमै शतक पूरा गर्दै जारी एनपिएलमा सनसनी मच्चाए। बलिङतर्फ पनि मार्क वाटले कसिलो प्रदर्शन गर्दै तीन ओभरमा १६ रन दिएर एक विकेट लिएका थिए।
यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । रुबेन ट्रम्पलम्यानले १४ बलमा २९ रनको आक्रामक पारी खेलेका थिए। जेजे स्मितले २३ रन जोडे।
बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट, सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान एक–एक विकेट लिएका थिए। पहिलो खेलमा चितवन राइनोजसँग पराजय भोगेको कर्णालीको यो पहिलो जित हो।







