काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को नयाँ च्याम्पियन बनेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको छ ।
लुम्बिनी प्रतियोगितामा नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम भने लगातार उपविजेतामा सीमित बन्यो । यसपटक साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा रहँदा प्रतियोगिताले नयाँ च्याम्पियन पाएको हो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभरमा सबै विकेट गुमाउँदा मात्र ८६ रनको लक्ष्य दिएको थियो । टोलीको इनिङ्समा ठूलो साझेदारी हुनै पाएन । प्रत्युत्तरमा लुम्बिनीले नौ ओभरमा चार विकेट गुमाउँदै प्रतियोगिताको नयाँ च्याम्पियन बन्यो ।
ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । उनले १३ बलमा एक छौका र पाँच छक्का हिर्काए । उनलाई हेमन्त धामीले स्कट कुगुलेइनबाट क्याच गराए । दिनेशले पहिलो ओभरमै सुदूरका कप्तान दीपेन्द्रलाई २७ रन हिर्काएका थिए । अस्ट्रेलियन ब्याटर डार्सी सर्टले १३ बलमा १४ रन बनाए । कप्तान रोहितले १३ बलमा दुई चाका र एक छक्कासहित १६ रन बनाए । रोहित फाइनलका प्रतिद्वन्दी विनोद भण्डारीलाई पछि पार्दै प्रतियोगितामा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बने ।
सुदूरका हेमन्त धामीले दुई विकेट लिए । दीपेन्द्र र अनिनाशले समान एक विकेट हात पारे । यसअघि टस जितेर बलिङ गरेको लुम्बिनीको लागि कप्तान रोहितले ह्याट्रिक विकेट लिए । रोहितले ११औं ओभर लगातार तीन विकेट लिएका हुन् ।
सुदूरको इनिङ्समा ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले ५१ बलमा एक चौकामात्रै प्रहार गरे । त्यसबाहेक कप्तान दीपेन्द्रसिंह ऐरीले २० बलमा १३ रन बनाए । हर्मित सिंह र स्कट कुगुलेइनले पनि १० रन मात्रै बनाएर पेभिलियन फर्किएका थिए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका रोहित पौडेलले कार र बाइक पाएका छन् । उनले प्रतियोगितामा लुम्बिनीलाई च्याम्पियन बनाउनुका साथै १० विकेट लिएका थिए भने २७६ रन बनाए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् ।








