काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६६ रन बनाएको हो ।

पहिलोपटक एनपिएल खेलिरहेका भारतीय ३५ वर्षीय ओपनर प्रियान्क पन्चालले सर्वाधिक ९० रन बनाए । रवि बोपराको बलमा देव खनालबाट क्याच आउट हुनुअघि उनले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा सात चौका र ६ छक्का हिर्काए । यसअघि उनले २८ बलमा ४ चौका र ३ छक्कासहित अर्धसतक बनाएका थिए ।

पवन सर्राफले १६ बलमा एक चौका र तीन छक्कासहित अविजित २७ रनको योगदान गरे । नाजिमुल्लाह जाद्रन पनि चार रनमा अविजित रहे । हर्का ओपनर म्याक्स ओ डाउडले कर्णाली याक्सका लागि ३० बलमा एक चौकासहित २० रन बनाएका हुन् ।

तेस्रो नम्बरमा आएका स्कटल्यान्डका मार्क वाटले २० बलमा १६ रन बनाए । एक चौका हिर्काएका उनलाई सोहेल तनवीरले रिजन ढकालबाट क्याच गराए ।

चितवनका लागि जइव, सोहेल तनवीर र रविले समान एक विकेट हात पारेका थिए । तनवीरले ४ ओभरमा २६ रन खर्चिए । चार ओभर बलिङ गरेका कमलसिंह ऐरीसँगै समान तीन ओभर बलिङ गरेका रिजन ढकाल र कुशल मल्ल भने विकेटबिहिन भए ।