काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि आयोजित ‘ट्रफी जात्रा’ हनुमानढोका दरवार स्क्वायर पुगेको छ ।
बुधबार बिहान पशुपति मन्दिरबाट सुरु गरिएको ट्रफी जात्रा भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर हुँदै अहिले बसन्तपुर दरबार स्क्वायर ल्याइएको हो ।
एनपीएलका प्रत्येक सहभागि टीमले ट्रफी टूर गरिरहेको बेला काठमाडौं गोर्खाजले पनि सो ‘ट्रफी जात्रा’ आयोजना गरेको हो ।
हनुमानढोका दरवार क्षेत्र पुगेको ट्रफीसँग फोटो खिच्नको लागि समर्थकहरूको भीड लागेको थियो । विराटनगरबाट सुरू भएको ट्रफी टूर सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिने बताइएको छ ।
विराटनगरबाट ट्रफी टुर मधेश प्रदेशको जनकपुरबाट चितवन, कर्णाली हुँदै काठमाडौं आइपुगेको हो । काठमाडौंका प्रमुख स्थानमा ट्रफी टूर गरेसंगै पोखरा, लुम्बिनी, सुर्खेत हुँदै कैलाली पुगेर टुंगिने छ । एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदैछ ।









