काठमाडौं । एमालेमा अध्यक्ष केपी ओलीको सान्दर्भिकता सकिँदै गएको देखिएकाे छ । पार्टीका पदाधिकारीहरू ओलीलाई अध्यक्षबाट हटाउन लागेको चर्चासँगै अहिले एमालेले आफ्नो प्रचार सामग्रीमा ओलीको तस्बिर राख्न छाडेको छ।
एमालेले बुधबार काठमाडौँमा कम्युनिष्टको पार्टीको ७७औँ स्थापना दिवस मनाउँदैछ। एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको स्थापना दिवसको प्रचार सामग्रीमा ओलीको तस्बिर राखिएको छैन।
पोखरेलले सार्वजनिक गरेको प्रचार सामग्रीमा कम्युनिस्ट पार्टीका संस्थापक सदस्यहरूको मात्र तस्बिर छ। एमालेले यसअघिका सबैजसो प्रचार सामग्रीमा ओलीको तस्बिर राख्ने गरेको थियो।
विगतमा ओलीको तस्बिरलाई मात्र विशेष स्थान दिने निर्णयका कारण आलोचित बनेको एमालेले कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको सामग्रीमा पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीका तस्बिरलाई मात्र समावेश गरेको छ । फागुन २१ को निर्वाचनदेखि नै ओलीनिकट उम्मेदवारहरूले समेत उनको फोटो प्रयोग गर्न छाडेका थिए । एमालेमा देखिएको यो बदलावलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पार्टीभित्र नेतृत्व पुनर्गठनको बहस चर्किरहेका बेला प्रचार सामग्रीबाट अध्यक्षको तस्बिर हट्नुलाई कतिपयले एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्वको विकल्प खोज्ने संकेतको रूपमा विश्लेषण गरेका छन् ।
एमाले महासचिव पोखरेल पार्टी अध्यक्ष ओली हटाउने अभियानमा लागेका छन् । यसका लागि उनको उपाध्यक्ष विष्णु पौडेलसँग मोर्चाबन्दी भएको छ । शंकर र विष्णु मिलेर आफूलाई हटाउन लागेको भन्दै ओली आक्रोशित बनेका छन् ।







