काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खानतलासी गरी ल्यापटप, पेनड्राइभ र चेकबुक बरामद गरेको जनाएको छ।
स्रोतका अनुसार विभागका अधिकारीहरू सोमबार ललितपुरको भैँसेपाटीस्थित पौडेल निवासमा पुगेर खानतलासी गरेका थिए। त्यस क्रममा पौडेल निवासमा उनकी पत्नी गीता पौडेल उपस्थित थिइन्। विभागले व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा खानतलासी गरिएको जानकारी दिएको बताइएको छ।
खानतलासीपछि सुर्खेतमा पार्टी कार्यक्रममा सहभागी रहेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई मंगलबार काठमाडौं ल्याएर विशेष अदालतमा उपस्थित गराइएकोमा अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
यसैबीच एमालेले पक्राउ प्रक्रियामाथि प्रश्न उठाएको छ। एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अनुसन्धान निकायहरू अदृश्य शक्ति केन्द्रबाट परिचालित भएको आशंका व्यक्त गरेका छन्।
पौडेल निकट स्रोतहरूले भने उनी स्वयं काठमाडौं फर्किएपछि अनुसन्धानमा सहयोग गर्न तयार रहेको अवस्थामा पक्राउ गरिएको दाबी गरेका छन्। यता, सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया कानुनअनुसार अघि बढाइएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको छ।






