काठमाडौं । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यतिबेला नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन भइरहेको छ । मंसिर १ गते उदघाटन भएको प्रतियोगिता २७ दिनसम्म चल्नेछ ।
त्रिवि क्रिकेट मैदानमा पहिलोपल्ट दिवा-रात्री खेल खेलाइँदैछ । रंगशालाको स्तरोन्नति गरिएपछि डे-नाइट खेलाइएको हो । रंगशालाको प्यारापिटमा कुर्सी जडान गरिएको छ । ६ वटा अन्तर्राष्ट्रियसतरको फ्लडलाइट जडान गरिएको छ ।
तर करोडौं रुपैयाँ खर्च गरेर जडान गरिएका कुर्सी चाँडै भाँचिने खतरा बढेको छ । एनपिएल हेर्न आउने धेरै दर्शकहरुले प्यारापिटको कुर्सीमा चढेर उफ्रिने, नाच्ने गरेको पाइएको छ । यस्तो गर्दा भर्खरै करोडौं खर्चेर जडान गरिएको कुर्सी चाँडै भाँचिने सम्भावना हुन्छ ।
यदि क्यानले नियमित अनुगमन र निरीक्षण मात्र होइन, सचेतना नजगाएमा एनपिएलकै अवधिमा सयौं कुर्सी भाँचिने खतरा बढेको छ । क्यानले टिकटमै कुर्सीमा नचढ्न भनेर सूचना राख्न र ओभरको बिचबिचमा माइकबाट यस्तो सूचना प्रवाह गर्ने, सिसिटिभी हेरेर भाच्नेबाट क्षतिपूर्ति असुल गर्नुपर्ने आवाज उठेको छ ।







