काठमाडौं । राजावादी पार्टी राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र नेता ज्ञानेन्द्र शाहीबीच टकराव भएको छ । मधेशमा एमाले नेतृत्वको सरकारमा मन्त्री बनेसँगै राप्रपाले बिच्छालाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेपछि विवाद सुरु भएको हो ।
नेता शाहीले यदि मधेशमा कञ्चन बिच्छालाई कारबाही गर्ने हो भने कोशी प्रदेश सभामुखलगायत प्रदेश सभामा रहेका संसदीय पदाधिकारीहरूको पनि राजीनामा मागौं भनेपछि लिङ्देन पक्ष भड्किएको छ । राप्रपा प्रवक्तम मोहनकुमार श्रेष्ठले अनावश्यक बखेडा नझिक्न चेतावनी दिएका छन् ।
‘राप्रपा प्रदेश सांसद कन्चन बिच्छाको राजीनामासँगै कोशी प्रदेश सभामुखलगायत प्रदेशमा सभामा रहेका संसदीय पदाधिकारीहरूको पनि राजीनामा मागौँ, प्रदेश सभा खारेजको मुद्दा राप्रपाले बोकेको हो भने प्रदेश सभा लाई बलियो बनाउने सभामुख को तत्काल राजीनामा मागौँ।। दोहोरो चरित्र नदेखाउँ सबैलाई बराबर गरौं,’ शाहीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् । यसपछि राप्रपामा नयाँ किचलो सुरु भएको छ । शाहीको भनाइलाई राप्रपा महामन्त्री धवलशमशेर राणाले समेत समर्थन जनाएका छन् ।
‘पार्टीको कार्यसम्पादन समितिको हरेक बैठकमा सहभागी हुने, अध्यक्षसँग धेरै नजिक रहेर हरेक एजेण्डाहरुमा ुइन्पुट दिने काममा प्रत्यक्ष सहभागी भएर पार्टीले लिएका कार्यदिशामा सामाजिक सञ्जालमा प्रश्न गर्ने र जवाफ खोज्ने प्रवृत्ति अशोभनीय हुन्छ। राजनीतिक दलमा मात्र होइन कुनै पनि संघसंस्था, संगठनमा निर्णय हुनुअघि व्यापक बहस, छलफल, तर्क वितर्क गर्नु र निर्णय भएपछि निर्णयको स्वामित्व लिनु, निर्णयको प्रतिरक्षा गर्नु बैठकका सहभागीको धर्म हुन्छ,’ राप्रपा प्रवक्ता श्रेष्ठलाई जवाफ दिएका छन् ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक कात्तिक २७ र २८ मा बोलाइएकोमा अध्यक्ष लिङ्देनले एक महिना सारेपछि शाही आक्रोशित भएका छन् ।







