काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा खारेज गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाले सार्वजनिक सेवा प्रवाहमा असर परेको भन्दै यस्तो व्यवस्था तत्काल हटाउनुपर्ने बताएका हुन्।
उनले आइतबारको बिदा सरकारी कर्मचारी, विद्यालय तथा शिक्षा क्षेत्र कसैका लागि पनि आवश्यक नभएको जिकिर गरे। उनका अनुसार आइतबार बिदा हुँदा आम नागरिकले साताभर सरकारी सेवा लिन कठिनाइ भोग्नुपरेको छ भने विकास निर्माण तथा प्रशासनिक काममा समेत ढिलाइ भइरहेको छ।
सांसद भाटले शुक्रबार आधा र शनिबार पूर्ण बिदा दिने पुरानै व्यवस्था कायम गर्न सरकारसँग आग्रह गरे।उनले भने, ‘बिदाको व्यवस्थाले कसैलाई पनि फाइदा पुगेको छैन, त्यसैले जनभावनाको कदर गर्दै तत्काल यो व्यवस्था खारेज गरी पुरानै कार्यतालिका कार्यान्वयन गरियोस्।’





