काठमाडौं । दिल्ली बिष्फोट पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि भुटान प्रस्थान गरेका छन्। उनकाे भ्रमण असोज २५ देखि २६ गतेसम्मको लागि तय गरिएको छ।
प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक एक्स अकाउन्ट मार्फत भनेका छन्, “म भुटान प्रस्थान गरिरहेको छु जहाँ म भुटानका चौथो राजाको ७०औं जन्मदिन र विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछु। भुटानमा रहदा मेरो राजासँग र प्रधानमन्त्री छेरिङ तोब्गेसँग भेटवार्ता हुनेछ। यस भ्रमणमा पुनात्साङछु–दुई जलविद्युत् आयोजना उद्घाटन हुनेछ जसले द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा थपिनेछ”
भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले उनलाई भुटानको अन्तराष्ट्रिय विमानस्थल पारोमा स्वागत गरेका छन्।
भुटानमा हाल ग्लोबल पीस प्रेयर फेस्टिभल नामक कार्यक्रम भइरहेको छ, जसलाई भुटानले ऐतिहासिक र अभूतपूर्व घटना भनेको छ। यो कार्यक्रम विश्वशान्ति र सम्बृद्धकालागि प्रार्थनामा समर्पित छ। भारतका प्रधानमन्त्री पनि भुटानी नेताहरूसँगै सो शान्ति प्रार्थना महोत्सवमा सहभागी हुनेछन्।






