काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले बिहीबार पाकिस्तानले युद्धविराम घोषणाको अघिल्लो दिन काबुलमा दुईवटा ड्रोन हमला गरेको बताएको छ ।

यो हमला दुई छिमेकी राष्ट्रहरूले युद्धविरामको घोषणा गर्नुभन्दा ठीक अगाडि भएको थियो । हालैका दिनमा भएको भिडन्तमा दुवै देशमा दर्जनौँको मृत्यु भएको र सयौँ घाइते भएका थिए ।

बुधबारको युद्धविरामले सन् २०२१ यता यी दुई छिमेकीहरूबीचको सबैभन्दा घातक झडपलाई कम्तीमा अस्थायी रूपमा रोकेको छ ।

ADVERTISEMENT

सन् २०२१ मा, २० वर्षको युद्धपछि अमेरिका र नेटो सेनाहरू फर्किरहेका बेला पश्चिमी समर्थित सरकारको पतन भएपछि तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो ।

ADVERTISEMENT

काबुलको पछिल्लो आरोपबारे इस्लामाबादबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । यसले युद्धविरामलाई कसरी असर गर्छ भन्ने पनि स्पष्ट भएको छैन ।

संयुक्त राष्ट्रसंघले बिहीबार युद्धविरामको स्वागत गर्दै दुवै पक्षलाई शत्रुतालाई स्थायी रूपमा अन्त्य गर्न आग्रह गरेको छ ।

जारी अपरेसनहरूबारे बोल्नका लागि आधिकारिक रूपमा अनुमति नपाएका पाकिस्तानी अधिकारीहरूले नाम उल्लेख नगर्ने सर्तमा एसोसिएटेड प्रेसलाई पाकिस्तानी सेनाले बुधबार उग्रवादीहरू लुक्ने ठाउँहरूलाई निशाना बनाएको बताएका थिए ।
काबुलका प्रहरी प्रमुखका प्रवक्ता खालिद जाद्रानले एसोसिएटेड प्रेसलाई ड्रोन हमलाहरू बुधबार दिउँसो सहरमा भएको बताएका थिए ।

उनले ड्रोनले एक नागरिकको घर र एउटा बजारमा हमला गरेको बताए । जाद्रानले हताहतीको आँकडा नदिए पनि अस्पतालका डाक्टरहरूले पहिले पाँचजनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएका थिए ।