काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा चर्चा परिचर्चा मच्चिएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा विकिपिडियाको पेज जस्तो देखिने एक पोस्टमा आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति उल्लेख गरिएको तस्बिर सेयर गरेका हुन् तर विकिपिडियाको अधिकारिक पेजमा भने कुनै त्यस्तो सामग्री नरहेको भेटिएको छ।
उक्त तस्बिरमा ट्रम्पको औपचारिक फोटोसँगै “Acting President of Venezuela” भन्ने उल्लेख गरिएको छ। ट्रम्पको यो पोस्ट केही समयमै भाइरल बनेको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई उत्तेजक अभिव्यक्तिका रूपमा टिप्पणी गरिरहेका छन्।
हालसम्म अमेरिकी सरकार, ह्वाइट हाउस वा भेनेजुएलासम्बन्धी कुनै आधिकारिक निकायबाट ट्रम्पको दाबीलाई समर्थन गर्ने औपचारिक वक्तव्य आएको छैन। अन्तर्राष्ट्रिय विश्लेषकहरूले पनि ट्रम्पको पोस्टलाई उत्तेजक अभिव्यक्ति का रूपमा लिएका छन्।
यो पोस्ट पछिल्लो समय अमेरिका भेनेजुएला सम्बन्ध तनावग्रस्त बन्दै गएको पृष्ठभूमिमा आएको हो। अमेरिका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोप्रति कडा आलोचक रहँदै आएको छ भने ट्रम्प प्रशासनले अघिल्लो कार्यकालदेखि नै भेनेजुएलामा सत्ता परिवर्तनको पक्ष लिँदै आएको थियो।
विशेषज्ञहरूका अनुसार ट्रम्पको यस्तो पोस्टले अन्तर्राष्ट्रिय कूटनीतिमा भ्रम सिर्जना गर्न सक्ने भए पनि यसको कुनै कानुनी वा राजनीतिक मान्यता छैन। तथापि, सामाजिक सञ्जालमा यसको प्रभाव र राजनीतिक सन्देशलाई लिएर बहस भने तीव्र बनेको छ।






