एजेन्सी: टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनीको चीनस्थित व्यवसाय अलग गर्ने वा बिक्री गर्ने तयारी भइरहेको भन्ने समाचारलाई पूर्ण रूपमा असत्य बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै मस्कले यस्तो विषयमा कुनै पनि स्तरमा छलफल नभएको स्पष्ट पार्नुभएको हो।
यसअघि द वाल स्ट्रिट जर्नलले टेस्लाका उच्च अधिकारीहरूलाई भविष्यमा स्पेसएक्ससँग सम्भावित विलय (मर्जर)को तयारीस्वरूप चीनस्थित व्यवसाय अलग गर्ने योजना बनाउन निर्देशन दिइएको दाबी गरेको थियो। समाचारमा कम्पनीका सल्लाहकारहरूले चीनस्थित व्यवसायलाई स्वतन्त्र कम्पनीका रूपमा छुट्याउने, बिक्री गर्ने वा आवश्यक परे बन्द गर्ने विकल्पबारे समेत छलफल गरेको उल्लेख गरिएको थियो। यद्यपि, यस्तो योजना कार्यान्वयन हुने वा नहुनेबारे निश्चित निर्णय भइनसकेको पनि जनाइएको थियो।
यस विषयमा प्रतिक्रिया दिँदै मस्कले एक्समा लेख्नुभयो, “यस्तो विषय कहिल्यै कुनै छलफलमै आएको छैन। यो अत्यन्तै झुटो समाचार हो।”
टेस्ला र स्पेसएक्सबीच सम्भावित विलयको चर्चा भने केही समययता हुँदै आएको छ। विशेषगरी स्पेसएक्सको सम्भावित प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) सम्बन्धी अड्कलबाजीपछि यस्तो चर्चा थप चुलिएको विश्लेषण गरिएको छ।
विश्लेषकहरूका अनुसार टेस्ला र स्पेसएक्सबीच कुनै विलय भए चीनमा नियामकीय तथा भूराजनीतिक चुनौती उत्पन्न हुन सक्छ। स्पेसएक्स अमेरिकी सरकारको रक्षा तथा अन्तरिक्ष कार्यक्रमसँग आबद्ध कम्पनी हो भने टेस्लाले चीनको शाङ्घाईमा आफ्नै स्वामित्वमा रहेको गिगाफ्याक्ट्रीमार्फत वार्षिक ९ लाख ५० हजारभन्दा बढी विद्युतीय सवारीसाधन उत्पादन गर्दै विश्वका विभिन्न बजारमा निर्यात गर्दै आएको छ।







