काठमाडौँ । यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच भएको भीषण झडपमा पछिल्लो २४ घण्टामा २७० भन्दा बढीको मृत्यु भएको छ ।

साउदी अरबको समर्थन प्राप्त यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले गत महिना हुथी विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण थालेपछि लडाइँ तीव्र भएको हो ।

ADVERTISEMENT

समाचार एजेन्सी एएफपीका अनुसार सरकारी पक्षका स्रोतले पछिल्लो २४ घण्टामा ११५ सैनिक मारिएको र दर्जनौँ घाइते भएको बताएका छन् । हुथीका सैन्य स्रोतले भने आफ्ना १६० लडाकु मारिएको दाबी गरेका छन् । हुथी स्रोतका अनुसार उनीहरूमध्ये अधिकांश साउदी अरबले हुथी नियन्त्रणमा रहेका क्षेत्रमा गरेको हवाई आक्रमणमा मारिएका हुन् ।

ADVERTISEMENT

हुथी विद्रोहीले सरकारी सेनाविरुद्ध क्षेप्यास्त्र र ड्रोन आक्रमणसमेत गरेका छन् । पछिल्लो हिंसाको मुख्य केन्द्र दक्षिणपश्चिमी यमनमा रहेको छ, जहाँ विश्वव्यापी ऊर्जा तथा समुद्री व्यापारका लागि महत्वपूर्ण बाब अल–मान्दब जलसन्धि आसपासका क्षेत्र पर्छन् ।

सरकारी सेनाले बाब अल–मान्दब आसपासका रणनीतिक क्षेत्र पुनः कब्जा गरेको दाबी गरेको छ । हुथीहरूले भने सरकारी पक्षले गरेको भूभाग नियन्त्रणसम्बन्धी दाबी अस्वीकार गर्दै आफूहरू अझै आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा कायम रहेको बताएका छन् ।

ADVERTISEMENT

यसैबीच, हुथीहरूले साउदी अरबका विमानस्थल, तेल पूर्वाधार तथा सैन्य क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । साउदी पक्षले केही आक्रमण प्रयास रोकिएको जनाएको छ ।

यमनमा पछिल्लो समय पुनः तीव्र भएको हिंसाले लामो समयदेखि जारी गृहयुद्धलाई थप जटिल बनाएको छ । बाब अल–मान्दब क्षेत्रको रणनीतिक महत्वका कारण यहाँको संघर्षले क्षेत्रीय सुरक्षासँगै विश्वव्यापी ऊर्जा तथा समुद्री आपूर्तिमा समेत असर पार्न सक्ने चिन्ता बढेको छ ।