काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ क्षतिग्रस्त बिपी राजमार्ग निरीक्षण गर्न पुगेका छन्।

बिहीबार बिहान बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा पुगेर उनले उपलब्ध स्रोतसाधनले काम सुरु गर्न स्थानीय तहलाई निर्देशन दिएका छन् ।

ADVERTISEMENT

मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई सङ्घीय राजधानी काठमाडौँसँग वाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने ‘लाइफ लाइन’ का रुपमा रहेको यो सडकलाई जतिसक्दो चाँडो सञ्चालन हुनेगरी काम गर्न आग्रह गरेका छन् ।

ADVERTISEMENT

गत वर्षको बाढीले उक्त राजमार्गको भकुण्डे-नेपालथोक खण्डमा क्षति भएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा हालैको बाढीले करिब चार किलोमिटर पुनः बगाएको छ ।

चौकीडाँडामा बिपी राजमार्गको नामोनिसान नै छैन । गत वर्ष असोजमा आएको बाढीले राजमार्ग बगाएको थियो । जहाँ पछि डाइभर्सन बनाएर गाडी चलाइएको थियो ।

ADVERTISEMENT

रोशी खोलामा लेलिव्रिजको अर्डर भइसकेको र अरु काम पनि तुरुन्त हुने उनले आश्वासन दिए । स्थानीयले रोशी खोलाका कारण किसानलाई दूध र तरकारी बेच्न गाह्रो भएको गुनासो गरेका थिए । बिपी राजमार्ग सञ्चालनमा आउन अझै एक साता लाग्ने बताइएको छ । अहिले वैकल्पिक मार्गबाट काठमाडौं आउजाउ भइरहेको छ ।