काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राम्रो काम गर्नेलाई जनताले तिरस्कार गर्ने गरेको गुनासो गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक छँदा आफूले लोडसेडिङ हटाएर उज्यालो नेपाल बनाए पनि चुनावमा जनताले मत नपत्याएको उनको गुनासो छ ।

ADVERTISEMENT

लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जिते पनि यसपटक मतमा जित्न नसेको उनको स्वीकारोक्ति छ । ‘हामीले १८ घण्टासम्मको लोडसेडिङको अँध्यारो पनि देख्यौँ। तर साहसी निर्णय र दृढ नेतृत्वले त्यो अँध्यारोलाई चिरेर उज्यालो सम्भव छ भन्ने प्रमाणित गर्‍यौँ। करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत पुगेको अवस्थाबाट ९९ प्रतिशतसम्म विद्युत पुर्‍याउने काम भयो। नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत आयातकर्ताबाट निर्यातकर्ता बन्न सक्ने आत्मविश्वास दिलायौँ,’ उनले भनेका छन् ।

ADVERTISEMENT

कुलमानले काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको र छोटो समयमै जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव ठूलो ऊर्जा र मार्गदर्शन बनेको बताए ।

‘हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ। लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ। तर चुनावमा हार प्राविधिक विषय मात्र हो। छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको छ,’ उनले भनेका छन् ।

ADVERTISEMENT

कुलमानले बहुमत जित हासिल गरेकामा रास्वपालाई बधाईसमेत दिएका छन् । ‘चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएको छ। जनताको परिवर्तन र आर्थिक समृध्दिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्न उहाँहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जानेछ। अन्त्यमा, चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

कुलमान रास्वपा छाडेर उज्यालो नेपाल पार्टीबाट काठमाडौं ३ मा प्रतिनिधिसभा उम्मेदवार बनेका थिए । तर उनी रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भए । कुलमानले समानुपातिकमा मत हालेको देश परिवर्तन पार्टीले तीन प्रतिशत थ्रेसहोल्ड कटाउन सकेन ।