काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले नयाँ दल दर्ता गर्ने भएका छन् । जेनजीका मुद्दा उठाउँदै उनले नयाँ दल खोल्न लागेका हुन् । त्यसका लागि आन्तरिक गृहकार्य तीव्र पारेको उनी निकट नेताहरुको भनाइ छ ।

कुलमानले नयाँ पार्टी बनाएर आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारी गरेका छन् । रास्वपा छाडेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ,, सागर ढकाललगायतलाई समेटेर घिसिङले दल खोल्न लागेको बुझिएको छ । बुझिएअनुसार केही दिनमै नाम टुंगो लगाएर निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिने तयारी छ ।

पार्टीको नाम ‘उज्यालो नेपाल पार्टी’ र चुनाव चिन्ह ‘बिजुलीको चिम’ राख्ने मोटामोटी सहमति भइसकेको बताइन्छ । केही दिनअघि बालुवाटारमा जेन(जी अगुवाहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई चुनाव लड्ने हो ? भनेर सोधेकी थिइन् । उनले प्रष्ट जवाफ दिएका थिएनन् ।

चुनावमा भाग लिनकै लागि उनले मन्त्रीबाट राजीनामा दिने बताइन्छ । डेडिकेटेड र ट्रंकलाइन विवादका कारण कुलमान विवादमा तानिएका छन् । आफ्नो स्वार्थ पूरा गर्न हजारौं मजदुरको भविष्य बर्बाद पार्न खोजेको र नेपालमा लगानीको वातावरण बन्द गराउन लागेको आरोप उनीमाथि लागेको छ ।

घिसिङको नेतृत्वमा रास्वपा पुर्नगठन गर्न लागेको चर्चासमेत चलेको छ । यो प्रक्रियामा लागेका रास्वपाका केही नेताले नक्खु कारागारमा रहेका सभापति रवि लामिछानेसँग केही चरण छलफल पनि गरेका थिए । तर, रविले नेतृत्व छोड्न आफू जेलमुक्त हुनुपर्ने सर्त राखेपछि घिसिङ नयाँ पार्टी खोल्ने तयारीमा लागेको बताइन्छ ।