काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोग गर्न चिनियाँ राजदूत चेन सोङलाई आग्रह गरेका छन् ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

ADVERTISEMENT

भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौँ-कोदारी (अरनिको) र स्याप्रुबेँसी–रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको, तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

यसैगरी, काठमाडौँ उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलंकी–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत् आयोजनाहरु निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथांकाबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन उनले आग्रह गरेका थिए ।

मन्त्री घिसिङले चिनियाँ कम्पनीले ठेक्का लिएका कमला–कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको जानकारी गराउँदै नारायणघाट–बुटवल तथा मुग्लिन–पोखरा सडक बिस्तारको कामलाई गति दिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल गरिदिन पनि भनेका थिए ।

राजदूत सोङले छिमेकी मित्रराष्ट्र नेपालको प्राथमिकताका आधारमा यसअघि जस्तै सक्दो सहयोग गर्न चीन तयार रहेको बताए ।