काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आमसहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन् ।

संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्य साथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे ।

ADVERTISEMENT

‘‘यो संविधानले नेपाली जनतालाई सर्वभौसत्ता र स्वतन्त्रता दिएको छ । सबै जात, धर्म र सम्प्रदायका जनतालाई समान हक दिएको छ । र, समन्वय कायम गरी उन्नति गर्ने अवसर दिएको छ । र, हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएका छौँ । यो हामीले प्राप्त गरेको युगीन उपलब्धि हो । त्यसैले सबैले यसको रक्षा गरौं,’ उनले भने ।

ADVERTISEMENT

राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने आफ्नो दृढ विश्वास रहेको उल्लेख गर्दै आफैँ पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको स्मरण गरे । ‘परिस्थितिले मलाई भदौ २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ । र, सबैको सुझबुझ, समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ,’ उनले भने ।

राष्ट्रपति पौडेलले हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहनेछौँ, नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ, सुशासनप्रति प्रतिबद्ध रहनेछौँ र राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा तथा मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ भनी संविधान दिवसको दिनमा सबैलाई सङ्कल्प गर्न आह्वान गरे ।

ADVERTISEMENT

‘‘राजनीतिक दल, सरकार, राज्यका निकाय र आमनागरिक सबै मिलेर हाम्रो संविधानलाई अझ जीवन्त, न्यायपूर्ण र भविष्यमुखी बनाउँदै नेपाली नागरिकले परिवर्तनका आन्दोलमा देखेका सपनाहरू पूरा गर्ने नयाँ आशा, अपेक्षा र विश्वाससहितको गौरवमय यात्रामा अघि बढ्न सकौँ भन्ने शुभकामना पनि दिन चाहन्छु । र, यस कठिन परिस्थितिमा हाम्रा सबै मित्र राष्ट्रहरूको निरन्तर सहयोग तथा सद्भावको अपेक्षा पनि गर्दछु,’ उनले भने ।

राष्ट्रपति पौडेलले लोकतन्त्र र संविधानको भावना, नवपुस्ताको परिवर्तनको सपना र जनचाहनाअनुसार तत्कालीन समयमा जेजति गर्न सकिन्थ्यो त्यो सबैले मिलेर गरेको उल्लेख गर्दै मुलुक फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको बताए । ‘नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ । अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनःनिर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ । यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो,’ उनले भने ।

राष्ट्रपति पौडेलले दुई दिनको विरोध प्रर्दशनमा मुलुकले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको उल्लेख गर्दै भने, ‘छोराछोरीको एउटा अभिभावकका रूपमा म जीवन गुमाउने ती युवाहरूका बुवाआमाको पीडा अनुभव गर्न सक्छु र त्यस क्रममा भएको राष्ट्रको अपार जनधनको क्षतिको पनि अनुमान गर्दछु । राष्ट्रको अभिभावकका रूपमा मुलुकले ती कर्णाधार युवाहरू गुमाउँदाको क्षति अनुभूत गर्न सक्छु । आज संविधान दिवसका दिन म ती सारा युवाहरूको जागरुकता र सदिच्छा स्मरण गर्न चाहन्छु, जो मुलुकमा थिति बसोस् र राष्ट्रको भविष्य उज्ज्वल होस् भनेर भदौ २३ गते सडकमा आएका थिए ।’

राष्ट्रपति पौडेलले हाम्रो संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको उल्लेख गर्दै यी सम्भावनालाई न्यायोचित ढङ्गले उपयोग गर्न सके आमनेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिने स्पष्ट पारे ।