काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले सोमबार शिष्टाचार भेट गरेकी छिन । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका छन् ।त्यसक्रममा उनले भने  “यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक छ” ।

नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत जस्ता क्षेत्रहरुमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताएका थिए  । भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सक्षम भएकोमा भियतनामका उपराष्ट्रपति समक्ष खुशी व्यक्त गरेका छन् । 

उनले विशेषतः बौद्ध धर्म दुवै देशका जनताबीचको गहिरो सम्बन्धको सेतुको रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नु खुशीको विषय भएको पनि बताएका छन् । 

उक्त अवसरमा भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले  नेपालले सन २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको तथा भियतनामले सन २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरेको सन्दर्भमा सन् २०३० भन्दा अघि नै दुई देश बीच वृहत सम्बन्धको फ्रेमवर्क बनाउन जरुरी भएको उल्लेख गरेकी छिन  

भियतनामका उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देश बिच सहकार्य गर्न आवश्यक रहेको बताईन  । उनले अन्तर्राष्टिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताएकी छिन् ।