काठमाडौं । नेपाली कांग्रेसले ‘कुलिङ अफ पिरियड’ छेडखानीमा संसदीय विशेष छानबिन समितिको मर्मअनुसार राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबारे निर्णय लिने भएको छ । समितिले मंगलबार प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिसकेको छ ।
समितिले खतिवडाको भूमिकामाथि प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पद छोड्नुपर्ने कांग्रेसभित्रै र बाहिरबाट आइरहेको छ ।
खतिवडा सभापति रहेको समितिमा कुलिङ पिरियड राख्नका लागि सर्वसम्मत निर्णय भएको थियो । तर, प्रतिनिधिसभाबाट पारित हुँदा समितिबाट पारित भएभन्दा फरक व्यवस्था विधेयकमा राखिएको थियो ।
विधेयकमा फरक प्रावधान राखेर पारित संसदबाट पारित भएपछि त्यसमा छानबिन गर्न संसदीय समिति बनेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा रहेको समितिले तयार गरेको प्रतिवेदनमा सभापतिको हैसियतमा खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदीय समितिले पेस गरेको प्रतिवेदनको मर्मअनुसार पार्टीले निर्णय लिने बताएका छन् । खतिवडाको विषयमा पार्टीले चाल्ने कदमबारे शर्माले भने, ‘समितिले प्रतिवेदनको उल्लेख गरेका विषयलाई दृष्टिगत गरेर पार्टीले आवश्यक निर्णय लिन्छ ।’ खतिवडाका विषयमा पार्टीभित्र छलफल हुने र प्रतिवेदनको मर्मअनुसार निर्णय गरिने उनको भनाइ छ ।








