काठमाडौं । नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ दलका सांसदहरूले देखाएको व्यवहारप्रति गम्भीर असहमति जनाउँदै आपत्ति जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकले बुधबार सार्वजनिक लेखा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र सशस्त्र प्रहरीका महानिरीक्षकप्रति प्रयोग गरेको भाषाशैली तथा व्यवहारप्रति आपत्ति जनाएको हो।

सांसद सुनारले प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितता भएको भन्दै छानबिनको माग गर्ने क्रममा सम्बन्धित अधिकारीहरूप्रति अमर्यादित शब्द प्रयोग गरेको कांग्रेसको भनाइ छ।

ADVERTISEMENT

कांग्रेसले संसद् तथा संसदीय समितिलाई लोकतन्त्रको ‘मन्दिर’ भन्दै जनप्रतिनिधिले त्यहाँ प्रयोग गर्ने भाषा, शैली र व्यवहार शिष्ट, अनुशासित तथा मर्यादित हुनुपर्नेमा जोड दिएको छ।

ADVERTISEMENT

केन्द्रीय कार्यसमितिले कुनै पनि आरोप वा दाबी तथ्य र विधिसम्मत हुनुपर्ने उल्लेख गर्दै राजनीतिक संरक्षणका आधारमा कसैलाई उन्मुक्ति दिने तथा पूर्वाग्रहका आधारमा कसैको चरित्रहत्या गर्ने प्रवृत्ति दुवै लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको जनाएको छ।

कांग्रेसले आफ्ना सांसदहरूलाई समेत संसद् र संसदीय समितिको मर्यादा कायम राख्दै जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएको छ। सुशासन, पारदर्शिता, जनजीविका तथा नागरिक अधिकारका विषयमा व्यक्तिगत वा दलीय आवेगभन्दा माथि उठेर तथ्यमा आधारित ढंगले प्रस्तुत हुन पार्टीले आग्रह गरेको छ।

कांग्रेसले संसदीय व्यवहारले नै लोकतन्त्रप्रतिको निष्ठा र राजनीतिक संस्कार झल्काउने भन्दै सुशासन र पारदर्शिताका पक्षमा आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।