काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको विवाद अदालतको बाटोबाट नभई पार्टी कार्यालयमै बसेर संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्।

शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रिन रन’ कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले पार्टीभित्रका समस्या संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा जोड दिए। कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको भन्दै उनले सबै नेताहरूलाई पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आग्रह गरे।

‘नेपाली कांग्रेस पार्टी नयाँ ढंगले, नयाँ सोचले, नयाँ दृष्टिकोणले, नयाँ ऊर्जाले गइरहेको बेला हामी सबै आदरणीय नेताहरूलाई पनि आग्रह गरिरहेका छौँ,’ शर्माले भने।

ADVERTISEMENT

संविधान र कानुनले मुद्दा मामिलाको बाटो खुला गरे पनि त्यसबाट मात्रै पार्टीभित्रको समस्या समाधान नहुने उनको भनाइ छ।

ADVERTISEMENT

‘मुद्दा मामिलाको बाटो संविधानले, कानुनले दिन्छ। त्यसमा जाँदै गर्दाखेरि हामी नकारात्मक टिप्पणी गर्दैनौँ। तर अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकतावद्ध बनाएर लिएर जानुछ,’ शर्माले भने।

ADVERTISEMENT

विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि नभएको स्मरण गराउँदै शर्माले आगामी असोजमा महाधिवेशन हुने भएकाले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैका लागि अवसर खुला रहेको बताए।

‘यो विशेष महाधिवेशनपछि पाँच वर्षलाई आएको नेतृत्व होइन। असोजको महिनामा महाधिवेशन हुँदै छ। कसले आएर सभापति बन्न चाहनुहुन्छ, को आएर उपसभापति, महामन्त्री बन्न चाहनुहुन्छ, सबैलाई ढोका खुला छ,’ उनले भने।

शर्माले कांग्रेसभित्र देखिएको विवादलाई संवाद र सहमतिबाट समाधान गर्दै पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।