काठमाडौं । रास्वपाका अध्यक्ष रवि लामिछानेले आफ्नो सामाजिक सञ्जालमा विस्तृत स्टाटस जारी गर्दै देशको भविष्य, हालको राजनीतिक अवस्था तथा आफ्ना केही स्पष्ट माग सार्वजनिक गरेका छन्। उनले बताएका छन् कि आज उनको जन्मदिन परेको र जन्मदिनको उपहारस्वरूप आफूले आफैलाई “फेरी कारागारमा पठाइरहेको” घोषणा गरेका छन्।
लामिछानेले आफ्नो स्टाटसमा भनेका मुख्य अंश यस्ता छन् “नमस्कार। म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेशा संवादमा छु। जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन ।आज म आफ्ना बारेमा सफाई दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्वपूर्ण कुरा बताउन गइरहेको छु। संयोगले आज मेरो जन्मदिन परेछ। र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरी कारागारमा पठाउँदैछु।”
उनले थप दाबी गरेका छन् कि “पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु।”
लामिछानेले आफ्ना विपक्षीहरूमाथि मुद्दा लगाउने विषयको निर्णय नयाँ सरकारको विवेकमा छोड्ने इच्छा व्यक्त गर्दै लेखेका छन् “ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेक माथी नै छोड्न चाहन्छु।”
स्वयं र आफ्ना परिवार/पार्टीप्रति सम्बन्धित केही भावनात्मक अंश उनीले यसरी समेटेका छन् — “आफ्नै पार्टी परिवारभित्र का साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु… पार्टी त बन्छ बन्छ। बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ।”
लामिछानेले वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट धारणा राख्दै भनेका छन् “म लोकतन्त्र विधिको शासन प्रति प्रतिबद्ध राजनीतिकर्मी हुँ ।यसमा म कुनै हालतमा सम्झौता गर्दिन। अन्तरिम सरकार संविधानको पूर्ण पालनाबाट बनेन,बन्न सक्दैनथ्यो। अन्तरिम सरकारको संवैधानिक पृष्ठभूमि जेसुकै भएपनि यो अब देशको वास्तविकता हो। यो कदमलाई सरकारले अब परिणामबाट सार्थक बनाउनुपर्छ।”
उनले हालैको आन्दोलन र दमन दुवै पक्षको छानबिनको माग गहिरो स्वरमा उठाएका छन् — “एउटा कुरा नबिर्सौँ। करिला बच्चाहरुलाई ताकी ताकी गोली हानेर मारिएको छ… त्यसैले पहिलो दिनको दमनको पनि छानबिन हुनुपर्छ दोस्रो दिनको हिंसाको पनि छानबिन हुनुपर्छ। बच्चाका टाउकोमा ताकी ताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरु कारबाहीको दायरामा तत्काल आउनुपर्छ।”
लामिछानेले राज्य संरचनालाई रावणको उपमा दिएर चेतावनी दिएका छन् — “मैले भन्दै आएको थिएँ कि राज्यका सम्पूर्ण निकायहरू एउटै रावणका अलगअलग टाउकाहरु हुन्। रावणका यी अलगअलग टाउकाहरूमध्ये एउटा टाउको पनि बच्यो भने रावण बचेको ठहर्छ।”
उनले जनस्तरबाट दबाब बढाएर समयमै निर्वाचनको विश्वास व्यक्त गर्दै नयाँ सरकार र नयाँ जेनेरेसनलाई शुभकामना व्यक्त गरेका छन्। साथै उनले चर्चित पंक्तिहरूमा लेखेका छन् — “म,यो आन्दोलनका क्रममा आफ्ना कलिला छोराछोरी गुमाएका बाआमाहरूसँगै छु। मैले केही योगदान दिनुपर्यो भने म यही नखु कारागारमै छु। भेट्न आउनुहोला।”
अन्त्यमा लामिछानेले पार्टी निर्माणतर्फ सबैलाई आह्वान गर्दै भनेका छन् — “पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै अटाउँछौँ… पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साध्नुपर्ने केही पनि छैन… स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत हामीले राख्नुपर्छ।”







