काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ५२.२३ प्रतिशत खर्च र आन्तरिक आयमा ७४.१५ प्रतिशत आन्तरिक आय संकलन गरेको छ। विभागगत समीक्षा कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले आन्तरिक तथा वाह्य समन्वय अभावका कारण अपेक्षित नतिजा नआएको बताएकी छन्।
वित्त विभागका निमित्त प्रमुख विकास चित्रकारका अनुसार सार्वजनिक निर्माण विभागले ५२.१२ प्रतिशत, स्वास्थ्य क्षेत्रले ६५.८६ प्रतिशत, वातावरण व्यवस्थापनले ४७.५७ प्रतिशत र सूचना प्रविधि विभागले १३.९१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। आर्थिक विकास क्षेत्रमा ३७.६७ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ४७.९१ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा ५२.५२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २८.८८ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ७७.०२ प्रतिशत खर्च भएको छ । गएको वर्ष (आ. व. २०८०/०८१) मा यी क्षेत्रहरुमा क्रमशः ३८.११ प्रतिशत, ६०.३४ प्रतिशत, ४६.३५ प्रतिशत, ३१.६१ प्रतिशत र ७३.१३ प्रतिशत खर्च भएको थियो । यस वर्ष कुल खर्च ५१.०३ प्रतिशत थियो ।
महानगरपालिकाले ८ हजार २ सय ६ गुनासा कल सेन्टरमार्फत, १ हजार १ सय ५ गुनासा हेलो सरकारमार्फत प्राप्त गरेको छ। न्यायिक समितिले ५४ प्रतिशत विवाद टुङ्ग्याएको छ। यस वर्ष ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ। महानगरपालिकामा हाल २ हजार ६ सय ४० कर्मचारी कार्यरत छन्, ३२ वडामा ८ लाख ६२ हजार जनसंख्या बसोबास गर्छन्।








