महोत्तरी । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मंगलबार दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ ।
घटनामा थप तीनजना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ साहुजीपट्टी निवासी रामदयाल दासको छोरा रवि दास, सुरेन्द्र दासका छोरा शुभाष दास र एकडारा गाउँपालिका–३ अजमरपट्टी निवासी शत्रुध्न मण्डलका छोरा अभिषेक मण्डल छन । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नम्बरप्लेटसमेत नदेखिने अवस्थामा रहेको जनाइएको छ ।
मंगलबार बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडकखण्डको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए । ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा तीनजना विद्यार्थीको घटनास्थलमै तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु एसइई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको बताइएको छ ।
घाइते जलेश्वर नगरपालिका–६ का सुरेश दासको छोरा रोहित दास, लखिन्द्र कापरका छोरा अभय कापर र परिचय नखुलेको जयकुमार महतोको अवस्था चिन्ताजनक छ । मृतकमध्ये रवि दास र शुभाष दासले महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय जलेश्वरबाट एसइइ परीक्षा दिइरहेका थिए । घाइते रोहित दास र अभय कापर पनि एसइइ दिइरहेका छन् ।













