काठमाडौं । कांग्रेसले राष्ट्रिय र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आगामी माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पुगेर दुई निर्वाचनका लागि दल दर्ता गराएका हुन् । राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी दर्ता भइसकेको उनको भनाइ छ ।
शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी मुख्यसचिव पौडेललाई दिएको थियो ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि कांग्रेसले निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको थियो। सोही प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानून बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने बैठकको निर्णयमा लेखिएको थियो।
अब एमालेले मात्र दल दर्ता गराउन बाँकी छ । एमालेले अहिलेको सरकार असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आएको छ । त्यसका लागि सर्वोच्च अदालतमा मुद्दा लिएर जाने एमाले अध्यक्ष केपी ओलीले शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभामा भनेका थिए । आयोगले मंसिर १० गतेसम्म दल दर्ता गर्ने मिति तोकेको छ ।






