काठमाडौं । महालक्ष्मी विकास बैंकले चाडपर्वहरूलाई लक्षित गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको छ । चाडपर्वहरूमा नेपाली नागरिक विभिन्न देश घुम्न जाने प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजनाको सुरुवात गरेको हो ।
त्यसका लागि बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीहरूसँग व्यावसायिक सहकार्यका लागि सम्झौतासमेत गरिसकेको छ । प्रारम्भिक चरणमा पर्यटकहरूले गुरु ट्रभाल्स दरबारमार्ग र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्समार्फत यो सुविधा लिन सक्नेछन् ।
सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका क्रेडिट कार्ड वाहकहरूले ट्राभल एजेन्सीमार्फत विभिन्न टुर प्याकेज खरिद गर्दा महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्नेछन् । साथै, आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्न समेत सक्नेछन् ।
आफूले खरिद गरेको टुर प्याकेजको बिल पेस गरेपछि महालक्ष्मी विकास बैंकले सहज रूपमै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ । यसरी मासिक किस्तामा परिवर्तन गर्दा बैंकले इएमआई प्रोसेसिङ शुल्क लिने छैन । यस कार्यको सुरुवातसँगै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र चाडपर्वहरूलाई थप उत्साहमय र अर्थपूर्ण बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ एप महालक्ष्मी स्मार्ट साथीमा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसात गरेको बैंकको देशभर १०३ शाखा कार्यालय र आठ लाख ग्राहक छन् ।








