काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सभा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसहितका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। साथै सञ्चालक समितिको प्रस्तावअनुसार कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरिएको छ।
स्वीकृत प्रस्तावअनुसार बैंकले हालको चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) र ५ प्रतिशत बोनस सेयर वितरण गर्नेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
सभामा प्रस्तुत विवरणअनुसार बैंकका वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा ९.३९ प्रतिशत रहेको आधार दर आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा घटेर ६.९४ प्रतिशत पुगेको छ। पुँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ। बैंकको निक्षेप ५६.२२ अर्ब रुपैयाँ र कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ पुगेको छ।
साधारण सभाले सञ्चालक समितिका ६ जना सदस्यको निर्वाचन पनि सम्पन्न गरेको छ। संस्थापक सेयरधनी समूहबाट राजेश उपाध्याय, संजय गिरि र ग्रोइङ प्रा.लि.का तर्फबाट सागर मल्ल निर्वाचित भएका छन्। सर्वसाधारण सेयरधनी समूहबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन्। नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः अध्यक्ष चयन गरेको छ।
सभाका अध्यक्ष उपाध्यायले सेयरधनीबाट प्राप्त सुझावलाई आत्मसात गर्दै ग्राहक सन्तुष्टि र लगानीकर्तालाई उचित प्रतिफल दिन बैंकका गतिविधिलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे। उनले सेयरधनी तथा सम्पूर्ण सरोकारवालाप्रति सहयोगका लागि धन्यवादसमेत ज्ञापन गरे।








