काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विकको अवसरमा देशैभर वित्तीय साक्षरता सचेतना कार्यक्रम गरेको छ । बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका विभिन्न शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
साताव्यापी अभियानअन्तर्गत बैंकका दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, विजयपुर पोखरा, विरगंज, धनगढी, सूर्यपुरा, डडेलधुरा, लहान, बिचबजार, मंगलसेन, चिप्लेढुंगालगायतका विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयहरुले विद्यार्र्थी तथा युवाहरु लक्षित कार्यक्रम गरेको हो । जसमा वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लागि वित्तीय साक्षरताका कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा एक हजारजनाभन्दा बढीको सहभागिता थियो । कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुबारे जानकारी गराइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकलगायतका विभिन्न संस्थाहरुले आयोजना गरेको वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रममा समेत बैंकले सहभागिता जनाएको छ ।
ग्लोबल मनी विकको अवसर पारेर बैंकको नेपालगन्ज शाखाले श्री युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगन्ज, बाँकेमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्रीसमेत वितरण गरेको छ ।
साथै, बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यमहरुबाट समेत विभिन्न सचेतनामूलक जानकारी र भिडियो सामग्रीसमेत प्रसारण गरिएको छ । यस्तो कार्यले किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।








